Filmy News

जेठको सबै शुक्रबार प्याक !

, काठमाण्डौ, २०७० फाल्गुन १९, सोमवार



जेठ महिनाको चारवटै शुक्रबार प्याक भएका छन् । जेठको पहिलो सातादेखि ‘उत्सव’, 'आवरण', ‘हँसिया’ र ‘पुन्टे परेड’ फिल्म प्रदर्शन हुने पक्का भएको छ । बाँकी रहेको एउटा मितिमा पनि फिल्म प्रदर्शन गर्ने पक्का भैसकेको वितरक नरेन्द्र महर्जन बताउँछन् ।

हाल पोष्ट प्रोडक्सनमा रहेको ‘उत्सव’ फिल्म जेठको पहिलो शुक्रबार २ गते प्रदर्शन हुँदैछ । कुमार भट्टराई निर्देशित यस फिल्ममा सौगात मल्ल, गौरव पहारी, प्रकृती श्रेष्ठ, संजोग कोइराला लगायतको मुख्य भूमिका छ । जेठ २ गते नै सुवास कोईराला निर्देशित फिल्म 'आवरण' रिलिज हुनेछ । यो फिल्ममा प्रियंका कार्की, दिव्य देव, सुशिलराज पाण्डे, अनुभव रेग्मी लगायतको अभिनय छ ।
त्यस्तै जेठ ९ गते ‘हँसिया’ फिल्म प्रदर्शन हुनेछ । हेमा श्रेष्ठको खतरनाक एक्सन समावेश फिल्मको प्रोमोले यस फिल्मलाई आशातीत फिल्मको कोटीमा पर्न आएको छ । । एक्सन लेडी हेमा श्रेष्ठ र हट हिरोइन प्रियंका कार्कीले महंगो सेटमा आइटम नृत्य पस्केको ‘हँसिया’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । दुर्गा घलेको फिल्ममा लगानी रहेको छ ।

जेठ २३ गते ‘पुन्टे परेड’ प्रदर्शन हुनेछ । संयम पुरी शिर्ष भूमिकामा रहेको यस फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । ‘उत्सव’, ‘हँसिया’ र ‘पुन्टे परेड’ लाई काठमाडौंका स्टेशनमा दर्शना आर्टस् प्रालीले वितरण गर्नेछ । जेठ १६ गते प्रदर्शन हुने फिल्मको नाम भने वितरकले सार्वजनिक गर्न चाहेका छैनन् ।

जेठमा प्रदर्शन हुने यी फिल्मको व्यापार कस्तो हुन्छ ? यी फिल्मसँग अरु कुन फिल्म जोरी खोज्न आउँछन् ? प्रतिक्षा गर्रौ ।

`आधी बाटो`की अनुले भनिन्, `कला हैन सम्बन्ध बिक्छ`

 काठमाण्डौ, २०७० फाल्गुन १९, सोमवार



'फिल्म नगरीमा कला बिक्छ कि निकटको सम्बन्ध,' अभिनेत्री अनु शाहले निर्माता रमेश त्वयनासँग आफ्नो ‘ट्युनिङ’ नमिलेपछि फिल्म ‘आधी बाटो’को प्रोमोशनल प्याकेजमा आफु नअटाएको गुनासो पोखिन् ।

फिल्म ‘कवाडी’को शुभमुर्हतमा भेटिएकी अभिनेत्री शाहले फिल्मीखबर समक्ष गुनासो पोख्दै भनिन्, ‘फिल्म युनिटसँग मेरो त्यती निकटता छैन । त्यसैले मेरो खिचिएका कतिपय दृश्य र गीत समेत हटाइएको रहेछ ।’ अभिनेता सविन श्रेष्ठसँग एउटा गीत खिच्ने भनी भएको सम्झौता समेत निर्माण युनिटले उल्टाएको अनुले बताइन् । उनले भनिन्, ‘सविन र मेरो खिचिएको गीत समेत हटाइएको रहेछ । पोस्टरको पनि छेउछेउमा मात्रै टाउको राखिएको छ ।’

निर्माण युनिटले प्रोमोशनल प्याकेजबाट छायाँमा पारेपछि ‘आधी बाटो’को कुनै पनि कार्यक्रममा सहभागी नहुने अनुले बताइन् । ‘आधी बाटो’मा आफ्नो भूमिका सहायक नभएको जिकिर गर्दै अनुले थपिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गर्न पाइन्छ ?’ अभिनेता सविन श्रेष्ठले पनि निर्माण युनिटले आफुलाई ‘मतलब’ नगरेको गुनासो गरे । गत साता सम्पन्न कार्यक्रममा सहभागीता नभएको बारे उनले भने, ‘कार्यक्रम सुरु हुनु भन्दा एक घण्टा अगाडी खबर गरेर कोही आउँछ ?’

निर्माता रमेश त्वायना भने आफ्नो लागि सबै कलाकार बराबर भएको दाबी गर्छन् । निर्माता त्वायनाले भने, ‘फिल्ममा अनुजीको अतिथि भूमिका हो । फिल्मलाई राम्रो बनाउन उहाँको दृश्य तथा गीतलाई हटाइएको हो ।’ आउँदो चैत २१ गते प्रदर्शन हुने ‘आधी बाटो’को प्रचार प्रसार सामाग्रीमा अभिनेत्री जेनिशा केसी र यश कुमार हावी भएका छन् । प्रचारमा को-को हिड्ने ? भन्ने विवादमा अल्झिएको आधी बाटोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

`कबड्डी` ट्रेलर : बैशाख १२ गते राँगो चढ्ने हैन त ?

 काठमाण्डौ, २०७० फाल्गुन १९, सोमवार



'कबड्डी' खेलको अर्थ सीमा नाघ्नुसँग जोडिएको हुन्छ । बैशाख १२ गते रिलिज हुन लागेको फिल्म 'कबड्डी'ले प्रेमको सिमा नाघ्दा हुने द्धन्दलाई रोमान्टिक कमेडी जनरामा प्रस्तुत गरिएको छ । जसको पहिलो अनुहार (फस्टलुक) सोमबार एक कार्यक्रमका विच अनावरण गरियो ।

मुस्ताङ चारकिल्ला क्षेत्रभित्र बसोबास गर्ने थकाली समुदायमा हुर्केकी एक युवतीको वरीपरी घुमेको 'कबड्डी'को पोस्टर र प्रोमो सार्वजनिक पश्चात सबैले आशलाग्दो फिल्मको रूपमा हेरेको प्रतिक्रिया दिए । मामाको छोरी मैयालाई बिछट्टै मन पराउने काजीले सीमा नाघेर गरेको प्रेम र त्यो प्रेममा भाँजो हाल्न सीमा नाघेरै आउने शहरिया युवक विवेकबीचको भिडन्तलाई देखाईएको फिल्मलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको मूल मर्मलाई प्रस्तुत सार्वजनिक प्रोमोबाट पनि दर्शाउन खोजिएको छ ।

आफ्नो प्रेम र उद्देश्यप्राप्तिका लागि लडीरहने पात्रहरू तथा तिनीहरूबाट जन्मेका परिस्थितीजनय घटनाक्रमहरूलाई हाँसोमय रूपमा निर्देशक रामबाबु गुरूङले आफ्नै कथा, पटकथा र संवादमा दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको बताए । उनले पारिवारिक वातावरणमा सुटिङ गरेर दर्शकलाई राम्रो खुराक पस्कने जमर्को गरेको समेत बताए । अभिनेता समेत रहेका निर्माता निश्चल बस्नेतले हेरूञ्जेल रमाईलो लाग्ने फिल्म बनाएको बताउँदै नेपाली फिल्म क्षेत्रमा 'कबड्डी' एक लेभल माथी रहेर निर्माण गरिएको दाबी गरे ।

'लुट' फिल्मका निर्देशक निश्चल बस्नेतको लगानी रहेको यो फिल्ममा निश्चल सहित दयाहाङ राई र रिश्मा गुरूङ मुख्य पात्रको रूपमा छन् । यस्तै फिल्ममा राजन खतिवडा, बिजय बराल, बुद्धी तामाङ, अरूणा कार्की, कमलमणी नेपाल, पशुपती राई, पुष्कर गुरूङ, कविता आले, शिशिर वाङ्देल, गोविन्द राई, कल्याण राई र उपेन्द्र सुब्बाको पनि अभिनय छ ।

सुनिल रौनियार, ओम चन्द रौनियार र हिक्मत थपलियाको समेत प्रत्यक्ष लगानी रहेको यो फिल्ममा अधिकांश प्राबिधिक र कलाकार स्वयं 'शेयर होल्डर' रहेको निर्माता बस्नेतले जानकारी गराए । फिल्ममा पुरूषोत्तम प्रधानको छायाँकन, आधा सुर व्याण्डको संगीत, कुमार महर्जनको द्धन्द, गोविन्द राईको करियोग्राफी, निमेष श्रेष्ठको सम्पादन तथा नीलिमा शर्माको कस्टुम डिजाइन रहेको छ ।

के-के गर्दा हुन्छ `एक्सिडेन्ट` ? (भिडियो हेर्नुस्)

, २०७० फाल्गुन १९, सोमवार


फिल्म ‘एक्सिडेन्ट’ले सडक दुर्घटनाका अलवा मानिसको जीवनमा सानो कमजोरी र गल्तीले सृजना हुने दुर्घटनाको कथा पेश गर्छ । कृष्ण अनमोलले निर्देशन गरेको यो फिल्म नयाँ वर्षलाई लक्षित गरी आगामी वैशाख अन्तिम सातावाट प्रर्दशनमा आउने बताईएको छ ।


मुकेश ढकाल, अभय चन्द, किरण थापा, सानु सोयाल लगायतको अभिनय रहेको यो फिल्मलाई सन्देश बराईलीले निर्माण गरेका हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत, गणेश श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द निर्देशन तथा जेक्सन शाहीको नृत्य निर्देशन रहेको छ ।


अनु र मुकेश `कवाडी`

 काठमाण्डौ, २०७० फाल्गुन १९, सोमवार


'कवाडी' शब्दको अर्थ काम नलाग्ने भन्ने हुन्छ । यही अर्थ लाग्ने शब्दको शिर्षकमा नेपाली फिल्म निर्माण हुने भएको छ । भद्रकालीमा मुहुर्त गर्दै ‘कवाडी’ फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।


मिलन आले मगरको पहिलो निर्देशकिय ‘कवाडी’ मा अनु शाह र मुकेश आचार्यले भूमिका निभाउनेछन् । भानसरा शर्मा निर्माता तथा सावित्री पुनः कार्यकारी निर्माता रहेको फिल्मका लेखक सुशिल पंगेनी हुन् । किन फिल्मको शिर्षक 'कवाडी' जुराइएको ? भन्ने प्रश्नमा कथा खुल्ने भन्दै लेखक पंगेनीले जवाफ दिन मानेनन् । उनले फिल्म कर्मसियल रहेको मात्रै बताए ।


भरत शेरचनको शब्द तथा संगीत एवं रामेश्वर जिरेलको छायाँकन रहने ‘कवाडी’ छायाँकन यही फागुन २८ गतेबाट सुरु हुने निर्देशक आले मगरले बताए । काठमाडौं र दाङमा छायाँकन गरिने फिल्ममा अनु र मुकेशसँगै शक्ति जिएम, सुदिप काफ्ले, रश्मी भट्ट, विमल नेपाली र गोपाल जिएमको अभिनय रहनेछ ।

मंगलबजारमा संयमको जुत्ता पोलिस गर्दै शिशिर

 काठमाण्डौ, २०७० फाल्गुन १९, सोमवार


पाटनको मंगलबजारमा कलाकारद्धय संयम पुरी र शिशिर भण्डारीबिच रमाइलो दृश्य देखियो । शिशिर त्यहाँ संयमको जुत्ता पोलिस गर्दै थिए । गाउँले भेषमा रहेका शिशिरसँग संयम हातको ईशाराले कुरा गर्दै थिए ।


यो दृश्य सुशिल पोखरेलले निर्माण गर्दै गरेको फिल्म ‘लभ सब’ को थियो । जुन फिल्मको आजबाट छायाँकन प्रारम्भ भएको छ । देवकुमार श्रेष्ठ निर्देशित ‘लभ सब’ मा संयम पुरी, शिशिर भण्डारीको साथमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, के.के. अधिकारी र अर्चन राई मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । सुजिल कर्माचार्यको संगीत, कृष्ण श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन रहने यो फिल्मको कथा साम्तेन भुटियाले लेखेका हुन् ।


फिल्मको छायाँकन ललितपुरको मंगलबजारमा करिब ८० प्रतिशत गरिने निर्माता पोखरेलले जानकारी दिए । छायाँकनको अवधी एक महिनाको छुट्याईएको छ । निर्माता पोखरेलले पछिल्लो पटक ‘वडीगार्ड’ नामक फिल्म निर्माण गरेका थिए ।

अमिताभ बच्चनले बोले जस्तै नेपाली फिल्म !

 काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार



गीत हिट त फिल्म सुपर हिट । यो संवाद बलिउड फिल्म ‘भूतनाथ रिटर्न्स’मा अभिनेता अभिताभ बच्चनले बोलेका छन् । बलिउडका बिग विले ‘भूतनाथ रिटर्न्स’मा बोलेको यो संवाद नेपाली फिल्ममा धेरै हदसम्म लागु भए जस्तो देखिन्छ ।

बिग विले भनेजस्तै व्यावसायिक सफलता पाउने अधिकांश नेपाली फिल्मका प्रोमो र गीत प्रदर्शन पूर्व हिट मानिएको ईतिहास छ । सर्वाधिक व्यापार गर्न सफल ‘लुट’ फिल्मको प्रोमो तथा गीत दुवै हिट भएका थिए । ‘लुट’को प्रोमो र सुष्मा कार्कीले कम्मर मर्काएको आइटम गीत ‘उध्रेको चोली’ सर्वाधिक हिट भयो ।

त्यस्तै सिमोस सुनुवार निर्देशित ‘फस्ट लभ’ फिल्मको पनि प्रोमो तथा गीतले दर्शकलाई आकर्षण गरेको थियो । ‘फस्ट लभ’ मा समावेश ‘को हौ तिमी’ र ‘पहिलो प्रेमको’ बोलको गीत धेरैको रोजाइमा पर्छ । फिल्म 'बाटो मुनिको फूल'को संगीतले नै दर्शकलाई आकर्षण गरेको थियो । 'नोटबुक' फिल्म गीतकै कारणले चर्चित बन्यो र चल्यो पनि ।

अभिनेत्री रेखा थापा गीत हिट गराएर फिल्म हिट गराउने कोटीमा पर्छिन् । ‘किस्मत’ देखि ‘काली’ सम्म समावेश रेखाका फिल्मका अधिकांश गीत हिट छन् । ‘किस्मत’ को ‘दिल यो...’ ‘हिम्मत’ को ‘मैंले त्यही भएर मन पराको’, ‘कस्ले चोर्यो मेरो मन’ को शिर्ष गीत, ‘अन्दाज’ को ‘सिम्पल सिम्पल कान्छी’ र यसै वर्ष प्रदर्शन भएको ‘काली’ फिल्ममा समावेश ‘स्लोली स्लोली’ को गत सर्वाधिक छन् ।

यसै बर्ष प्रदर्शन भएको कमेडी फिल्म ‘छ एकान छ’ को शिर्ष गीत पनि हिट भयो । निर्देशक विकास आचार्य पनि गीत हिट गराएर फिल्म हिट गराउने कोटीमा पर्न आउँछन् । विकासका ‘नाइ नभन्नु ल’ र ‘रिदम’ फिल्मले व्यावसायिक सफलता पाउनुमा गीतलाई नै श्रेय जान्छ । ‘नाइ नभन्नु ल’ को शिर्ष गीतसँगै ‘रिदम’ फिल्ममा समावेश अधिकांश गीत लोकप्रिय छन् ।

निर्देशक आचार्य निर्देशित ‘नाइ नभन्नु ल २’ मा समावेश ‘यी आँखामा तिमी छौं’ र 'मर्ने कसैलाई रहर हुँदैन' बोलको गीत यतिखेर लोकप्रिय बनेको छ । प्रेम परियारिद्धारा स्वरवद्ध यो गीत हरेक उमेर समुहको रोजाइमा पर्ने गरेको छ । गीत हिट भएको 'नाइ नभन्नु ल २' व्यावसायिक रुपमा पनि हिट होला ? चैत २८ गतेसम्म प्रतिक्षा गर्रौ ।


त्यस्तै चैत २१ गते प्रदर्शन हुने ‘आधी बाटो’ मा समावेश गीतलाई पनि दर्शक तथा श्रोताको रोजाइमा पर्न आउँछ । ‘मायाको डोली’ र ‘जरुर आउनु’ बोलको गीत सुन्नेको संख्या बढ्दो छ । रमेश त्वोयना निर्मित ‘आधी बाटो’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म 'ऋतु'को संगीत पनि रूचीमा परेको छ । गीत हिट भएका यि फिल्म हिट होलान् त ?

केकीलाई हेर्न राष्ट्रपति पुगे नाटघर

, काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार



अभिनेत्री केकी अधिकारीले पहिलो पटक मञ्चन गरेको ‘चारुमती’ नाटकलाई राष्ट्रपती रामवरण यादवले हेरेका छन् । लाजिम्पाटस्थित थिएटर भिलेजमा शनिबार साँझ राष्ट्रपती यादवले दलका अन्य नेतासँग ‘चारुमती’ लाई हेरेका थिए ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, एमालेका अध्यक्ष झलनाथ खनाल, भारतीय राजदुत रंजित रेलेले राष्ट्रपतिसँगै ‘चारुमती’ हेरे । नेपाल र भारतबिचको सम्बन्धलाई सत्यमोहन जोशीले लेखेको नाटकलाई विमल सुवेदीले निर्देशन गरेका हुन् । फागुन १७ गते शनिबार साँझ चारुमतीको पहिलो मञ्चन थियो ।

अभिनेत्री केकी अधिकारी चारुमतीको शिर्ष भूमिका छिन् भने पूर्व मेयरको भूमिकामा केशव स्थापित छन् । देवपालको भूमिकामा फिल्म ‘तोरी लाहुरे’का कलाकार सुवास थापा छन् । राजकुमार पुँडासैनी, अरुणा लामा, पुस्कर गुरुङ, भोलाराज सापकोटा र देशभक्त खनाल चारुमतीका अन्य कलाकार हुन् ।

पहिलो पटक नाटकमा अभिनय गरेकी केकीले नयाँ अनुभव पाएको बताउँदै राष्ट्रपतीले आफ्नो कामको प्रशंशा गर्दा खुसी लागेको बताईन् । उनले नाटकमा चारूमतीको जीवन जीउन पाउँदा निकै रमाईलो लागेको समेत बताईन् ।

पहिलो फिल्ममा यसरी नाचिन् प्रियंका (भिडियो हेर्नुस्)

काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार



अहिलेकी हट केक अभिनेत्री प्रियंका कार्कीले फिल्म 'मेरो बेस्ट फ्रेण्ड'मा पहिलो पटक अभिनेत्रीको रूपमा आफ्नो अनुहार देखाएकी हुन् । रिलिजका हिसाबले 'थ्री लभर्स' पहिलो भएपनि 'मेरो बेस्ट फ्रेण्ड' उनको करियरको पहिलो फिल्म हो ।

मिस टिन भएपछि अमेरिका हानिएकी प्रियंकालाई नेपाल फर्काएको फिल्म 'मेरो बेस्ट फ्रेण्ड'लाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यहि फिल्मको गीत सार्वजनिक गरिएको छ जहाँ प्रियंकाले आफ्नो बारूले कम्मर मर्काएकी छिन् ।

सार्वजनिक गीतलाई हरिहर आचार्य र भुपेन्द्र खड्काले तयार गरेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा मिलन अमात्यको स्वर छ  ।  प्रियंका सहित रेश मरहठ्ठा र दिवस उप्रेतीको मुख्य भूमिका रहेको यो फिल्मको छायाकंन विदुर पाण्डेले गरेका हुन् । यो फिल्म बैशाख १२ गते रिलिज हुने बताईएको छ ।


ओस्कारको हलमा `भिमदत्त`

 काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार


८६ औं ओस्कार अवार्डमा नेपाली फिल्म ‘भिमदत्त’ ले प्रचार प्रसारको अवसर पाएको छ । मार्च २ तारिखमा अमेरिकास्थित लस एञ्जल्समा सम्पन्न हुने ओस्कार अवार्ड आयोजना हुने हलमा ‘भिमदत्त’को पोस्टर्स राख्न र सहभागी सेलिब्रेटीलाई फिल्मको पमप्लेट्स बाँड्न निर्देशक हिमग्याम टासी सफल भएका छन् ।


अमेरिकी समयानुसार आईतबार साँझ साढे पाँच बजेदेखि हुने अवार्डमा प्रत्यक्ष रुपमा सहभागी हुन प्रयास गरिरहेको हिमग्यामले बताए । उनी कलाकार श्रीराम पुँडासैनीसँग तीन दिन अगाडी अमेरिका पुगेका थिए । तेस्रो पटक ओस्कार अवार्डमा सहभागी हुने प्रयास गरिरहेका निर्देशक टासीले अनलाइनमा फिल्मीखबरसँग भने, ‘फिल्मको पाँच सय बढी पम्प्लेट बाँड्न र ओस्कार अवार्ड हुने हलको सात स्थानमा पोस्टर्स राख्ने व्यवस्था मिलाएको छु ।’


निर्देशक ओस्कारमा फिल्म प्रचारमा व्यस्त भैरहँदा शिर्ष भूमिकामा प्रस्तुत भएका निर्माता नवल खड्का र अभिनेत्री सुमिना घिमिरे भने ‘भिमदत्त’ को च्यारेटीका लागि यतिबेला हङकङमा छन् । डडेलधुराका किसान नेता भिमदत्त पन्तको जीवनीमाथि आधारित ‘भिमदत्त’ लाई निर्माण युनिटले नेपाल भने तत्काल प्रदर्शन नगर्ने बताएको छ ।

देशदेखि विदेशसम्म कमेडी फिल्मको बम्पर व्यापार

काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार



कमेडी फिल्म ‘छ एकान छ’ले नेपालसँगै विदेशी बजारमा पनि उधुम मच्याइरहेको छ । जम्बो कमेडी स्टार अभिनित यस फिल्मले केही साता अघि अमेरिकामा सम्पन्न शोको अधिकांश टिकेट ‘सोल्ड आउट’ भएको बताईएको छ ।

अष्ट्रेलियामा पनि ‘छ एकान छ’को शो अमेरिकामा जस्तै गरी हाउसफुल भएको जानकारी प्राप्त छ । प्राप्त जानकारी अनुसार यस फिल्मले अष्ट्रेलियाको शोहरुबाट झन्डै बीस लाख रुपैयाँ कमाउने देखिएको छ । दर्शकको माग बढेपछि आयोजकले पाँच शोलाई बढाएर नौ शोमा पुर्याएको बताईएको छ । ‘छ एकान छ’ हाल सिड्नीसँगै अष्ट्रेलियाको सातवटै प्रमुख शहरहरुमा प्रदर्शन भैरहेको छ ।

निर्मातात्रय दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्मासँग एजुकेशन पार्क र प्यासिफिक हिमालयन मनी ट्रान्सरफरले ‘छ एकान छ’लाई १० लाख पचास हजार तिरेर अष्ट्रेलियाभर प्रदर्शनको अनुमती लिएको थियो । शोबाट फिल्म खरिद गर्ने दुई कम्पनीलाई झन्डै दोब्बर फाइदा पुग्ने देखिएको छ । ‘लुट’ पछि विदेशमा रहेका नेपाली दर्शक ‘छ एकान छ’ हेर्न उर्लिएका छन् । नेपालसँगै विदेशमा फिल्मले बम्परको व्यापार गरेपछि निर्माण युनिट माझ यतिबेला खुसीयाली छाएको छ ।

हेटौंडामा फिल्म स्टुडियोको माग

 हेटौंडा, २०७० फाल्गुन १८, आईतवार


भौगोलिक र जलवायुका हिसाबले उपयुक्त हेटौंडामा सुविधासम्पन्न फिल्म स्टुडियो बनाइनुपर्नेमा जोड दिइएको छ । चलचित्र पत्रकार संघ मकवानपुरको शुक्रबार हेटौंडामा भएको चौथो साधारणसभामा काठमाडौंबाट पनि नजिक भएको तथा पूर्वाधारको विकास भएको हेटौंडामा क्षेत्रीयस्तरको फिल्म स्टुडियो निर्माणका लागि सबैपक्षबाट पहल गर्न जरुरी रहेको औंल्याइएको हो ।


कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले संघलाई सुदृढ बनाउदै पत्रकारिताको माध्यमबाट मुलुकको फिल्म क्षेत्रलाई सफल बनाउन भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गरे । सबै फिल्मलाई राम्रो भनेर समाचार लेखिरहदा नेपाली फिल्मको उत्थान भन्दा पनि फिल्म पत्रकारितामाथि प्रश्न उठ्ने भन्दै उनले सत्य, तथ्य खबर प्रवाह गर्नु पत्रकारको धर्म रहेको धारणा राखे ।


साधारण सभामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रताप बिष्ट, चलचित्र पत्रकार संघ केन्द्रीय कोषाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष भानुभक्त आचार्य, ब्रोडकास्टिङ एसोसिएसन केन्द्रीय सदस्य उज्ज्वल चौलागाईं, चलचित्र वितरक नरेन्द्र महर्जनलगायतले फिल्म स्टुडियोको निमित्त मकवानपुर ज्यादै महत्वपूर्ण स्थान भएको बताएका थिए । संघ जिल्ला सहसचिव अमृत नेपालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दा अध्यक्ष रामशरण दुलालले अध्यक्ष र सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाली फिल्मतिर दर्शना आर्टस्

काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार


राजधानीमा कम्पनी स्थापना गरेर विगत ६ महिनादेखि हिन्दी फिल्मलाई वितरण गर्दै आएको दर्शना आर्टस् प्रालीले नेपाली फिल्मको पनि वितरण गर्ने भएको छ ।

बलिउड फिल्म 'रमैया वस्तभैया' सहित ‘चेन्नइ एक्सप्रेस’लाई नेपालमा वितरण गरेर वितरण प्रणालीमा होमिएको दर्शनाले वितरण गर्ने पहिलो नेपाली ‘ऋतु’ हुनेछ । ‘ऋतु’ यही फागुन २३ गतेबाट देशभरका हलमा प्रदर्शन हुँदैछ ।

हालसम्म १३ वटा हिन्दी फिल्म वितरण गरेको दर्शनाले ‘ऋतु’ सहित ‘पुन्टे परेड’, ‘उत्सव’, ‘हँसिया’ र ‘वान वे’ गरी पाँच नेपाली फिल्म वितरण गर्ने पक्का भएको छ । फागुन १७ गते शनिबार औपचारिक कार्यक्रम गर्दै दर्शनाका कार्यकारी निर्देशक दिपक अधिकारीले नेपाली फिल्मका निर्माताको हितमा आफ्नो कम्पनीले काम गर्ने बताए ।

दर्शनाका सिइओ सुरेशदर्पण पोखरेलले भने आफ्नो कम्पनीले स्तरीय नेपाली फिल्मलाई मात्रै वितरण गर्ने बताए । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र नेपाल चलचित्र संघका महासचिव प्रदीप कुमार उदय र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले वितरण प्रणालीमा दर्शनालाई स्वागत गर्दै यस कम्पनीले निर्माताको हितमा काम गर्ने विश्वास व्यक्त गरे ।

के होला मिका सिंहको सप्राईज ?

काठमाण्डौ, २०७० फाल्गुन १८, आईतवार


आज आइतबार ढिन्का चिका, सुबह होने नादे, गन्दी बात, तु मेरे अगल बगल लगायतका हिट गीतहरुका गायक मिका सिंह काठमाडौंमा कन्सर्ट गर्न आउँदै छन् । आयोजक मुनलाइटस् रेकर्डस्ले जनाए अनुसार आज गायक सिंहले काठमाडौंको सानो गौचरणको ग्राउण्डमा करिब डेढ घण्टा दर्शकलाई प्रत्यक्ष गीत सुनाउने छन् ।
गायक सिंहका सहयोगी तथा म्यानेजरहरु हिजोसम्म काठमाडौं आइसकेका छन् । उनका एक म्यानेजरका अनुसार गायक सिंहका साथ दुई जना गायिकाहरु पनि आउने छन् । जसमा एकजना स्टेजमा चर्चित गायिका हुनेछिन् भने अर्की बलिउडको पाश्र्व गायनमा नाम चलेकी गायिका हुनेछिन् । म्यानेजरले बताए अनुसार मिकाले आफ्ना प्राय कन्सर्टहरुमा सरप्राइज भन्दै एकजना चर्चित गायक तथा गायिकालाई आफ्नो साथ प्रस्तुत गर्ने गरेका छन् ।
हालै एक कन्सर्टमा उनले अहिलेका चर्चित र्याप गायक हनी सिंहलाई सरप्राइजका रुपमा मञ्चमा ल्याएका थिए । दुबईबाट दिल्ली हुँदै तीन बजे तिर काठमाडौंमा ल्याण्ड गर्न लागेका गायक सिंहले आफ्ना साथमा सरप्राइजका रुपमा कसलाई ल्याउने हुन् ? भन्ने कौतुकलता सबैमा देखिएको छ ।
गायक सिंहले केही नेपाली गीतहरु पनि आजको कन्सर्टमा गाउने तयारी गरिरहेको बताईएको छ । गायक रामकृष्ण ढकाल, गायिका आस्था राउत, गायक आनन्द कार्कीले पनि वार्मअप गीतहरु सुनाउने उक्त कन्सर्टका लागि तीनबजेबाट गेट खोलिने आयोजकले जनाएका छन् । मञ्चमा मिका सिंह पाँचबजे आउनेछन् ।
मुनलाइट रेकर्डस्का चन्द्रप्रकाश शर्माका अनुसार टिकट बिक्रिमा विद्यार्थी परिचय पत्र देखाइएको खण्डमा ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइदैछ । जस अनुसार हाल एक हजार दर तोकिएको टिकट रु. पाँच सयमा उपलब्ध गराइएको छ ।

ब्ल्याक एण्ड ह्वाइट : दु:ख पाईस् मंगले आफ्नै ढंगले

, काठमाण्डौ, २०७० फाल्गुन १७, शनिवार


बिना पूर्व तयारी कुनै पनि काम सजिलै सफल हुन सक्दैन । बिना योजना र तयारी बिना कामको थालनी गर्दा कस्तो नियती भोग्नु पर्छ भन्ने कुराको ज्ञान फिल्म 'ब्ल्याक एण्ड ह्वाईट' युनिटले राम्रोसँग बुझेको हुनुपर्छ ।

झण्डै एक महिना अगाडी फिल्म सुटिङका लागि युनिट मलेसिया पुग्यो । मलेसियामा सुटिङ गर्ने पूर्व तयारी र योजना नबन्दा निर्माण युनिटले नसोचेको दु:ख पाएको छ । एक महिनासम्म सुटिङ हुन नसकेपछि निर्देशक निरक पौडेल, अभिनेता जीवन लुईटेल र क्यामेराम्यान पुरूषोत्तम प्रधानको टोली नेपाल फर्केको छ । सुटिङका लागि अनुमती पाउन नसकेपछि युनिट नेपाल फर्केको हो । एक महिनासम्म बिना काम अरूको देशमा बस्न पक्कै सहज भएन ।

अभिनेता लुईटेललाई लिएर निरकले 'ब्ल्याक एण्ड ह्वाईट' नामक फिल्म निर्देशन गर्ने तयारीमा थिए ।  महिनौंदेखिको तयारी अझै पनि तयारीमा नै सिमित छ । एक महिनासम्म मलेसियामा बसेर प्रगती के भयो त ? अभिनेता जीवनलाई प्रश्न गर्दा उनले सहज उत्तर दिए, 'पूर्व तयारी नहुँदा केहि समस्या देखिएको हो । तर, अब छिट्टै नै मलेसियामा नै सुटिङ हुनेछ ।'

जीवनले सुटिङ ईजाजतको लागि तयारी भईरहेकाले केहि समयका लागि नेपाल आएको बताए । निर्माता बर्षा राउत, स्क्रिप्ट राईटर शिवम अधिकारी, करियोग्राफर कविराज गहतराज सहितको एक टिम अहिलेपनि मलेसियामा नै रहेको जीवनले खुलाए । जीवन मलेसियामा सम्पन्न एनसेल टुर सकेर सुटिङका लागि उतै बसेका थिए ।
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार मलेसियामा सुटिङ बिना नै निर्माण टिमको बसाई र खवाई खर्च झण्डै एक नेपाली फिल्मको लगानी बराबरको खर्च भएको छ ।  अब सुटिङको अनुमती पाएपछि मात्र नेपाल फर्केको टोली मलेसिया पुग्ने बताईन्छ ।

नेपाली उखान छ नि- 'दु:ख पाईस् मंगले आफ्नै ढंगले' । सायद यो उखान फेरि दोहोर्‍याउन नपर्ला ।

जनकपुरमा `मैथिली चलचित्र निर्माण अभिमुखिकरण कार्यशाला`

, काठमाण्डौ, २०७० फाल्गुन १६, शुक्रवार


चलचित्र विकास बोर्डले मैथिली लोक संस्कृतिको खोजी को अवधारणामा ७ दिने “मैथिली चलचित्र निर्माण अभिमुखिकरण कार्यशाला” जनकपुरको हारसर स्थित जीवन केन्द्रमा गरिरहेको छ । सो कार्यशालाको विहिवार सूचना तथा सञ्चार मन्त्रालयका सचिवको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

उद्घाटन कार्यक्रममा कार्यशालाको आयोजनाका विषयमा प्रकाश पार्दै बोर्डका सदस्य सचिव फणिन्द्र गौतमले भने, 'कार्यशालाको अन्तिम २ दिनमा प्रशिक्षार्थीहरुबाट कार्यशालाको पाठ्यक्रम बमोजिम स्थानीय स्तरमा मैथिली भाषी समुदायका विषयहरुमा उपलब्ध हुने कथाहरुमा ५ (पाँच ) वटा लघु फिल्म पनि निर्माण गर्ने कार्यक्रम रहेको छ ।'

प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्माले मैथिली समुदायको आवाज तथा मौलिक कथाहरुलाई सवैका सामु ल्याउने पर्ने बताए । सो वातावरण निर्माण गरी स्थानीय कथा, प्रतिभा र पहिचान प्रस्फुटन हुने अवसर उपलब्ध गराउन कार्यशाला गरिएको उनको भनाई थियो । मैथिली फिल्महरूको विकास, संरक्षण र सम्बद्र्धन गर्न तथा फिल्मकर्मीको पेशागत दक्षता अभिवृद्धिमा यो कार्यक्रमले सहयोग पुग्ने उनले बताए ।


प्रशिक्षकहरुको तर्फबाट डा. राजेन्द्र विमलले मैथिली कला, तथा लोक संस्कृतिको सवृद्धताका विषयमा प्रकाश पारे । उनले वास्तविक यथार्थपरक मौलिक मैथिली फिल्म निर्माणमा लागि यस किसिमको कार्यशालाको उपदेयिता रहेको धारणा राखे ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष पुष्प बरुवालले यस किसिमको कार्यशालाबाट पेशागत दक्षता अभिवृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताए । बरुवालले यस कार्यशालाबाट उत्पादित उत्कृष्ट फिल्मलाई मार्च २९ मा नेदरल्याडको एम्सटड्रममा सो समाजबाट आयोजित नृत्य तथा फिल्म महोत्सव कार्यक्रममा प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले यस कार्यशालालाई प्रयोगात्मक फिल्म उत्पादन गर्ने आधार समेतको कारणले लाइफ शालाको रुपमा व्याख्या गरे । उनले मैथिली संस्कृति तथा कलाको संरक्षणमा कार्यशालाले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।


बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले कार्यशालाको उद्घाटन शत्रको समापन गर्दै यस किसिमको कार्यशाला दक्षिण कोरियाली मोडलमा आयोजना गरिएको प्रकाश पारे । उनले भोलीका दिनमा कार्यशालामा सहभागी ६ जिल्लाका ४० प्रशिक्षार्थीहरुमध्ये २० प्रशिक्षार्थीहरुलाई दोस्रो चरणको प्रशिक्षण प्रदान गरी ३०/४० मिनेटका फिल्म बनाउन लगाउने बताए । २० प्रशिक्षार्थीहरुमध्ये उत्कृष्ट काम गर्ने ३ प्रशिक्षाथी छनौट गरी पुरा लम्बाईको मैथिली फिल्म निर्माणको वातावरण बनाउने दिशा तर्फ बोर्ड अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यशाला कार्यक्रमको उद्घाटन शत्रको बोर्डका प्रवक्ता अनुपम निरौलाले कार्यशालाले सिमान्तकृत समूह, वर्ग र क्षेत्रको कथा र स्मृतिहरुको विकासको सम्भावनालाई प्रोत्साहित गर्ने बताए । उनले कार्यक्रमबाट मैथली फिल्ममा मैथिली भाषी समुदायका आवाजहरु, मौलिक कथाहरु माथि उठ्ने वातावरण निर्माण गरी स्थानीय विषयहरु र प्रतिभाहरु प्रस्फुटन हुने वातावरण बन्ने बारे प्रकाश पारे ।




 कार्यशालामा सहभागि प्रशिक्षार्थीहरुको समुह विभाजन गरी फिल्म बनाउँदा वैश्विकरणले मैथिली समुदायको भाषा, कला तथा संस्कृतिमा पारेको प्रभाव, सामाजिक समस्याहरु आफ्ना फिल्ममा उठाउने छन् । उनीहरुले  दहेजप्रथा, जातिप्रथा, महिलाहिंसा, बोक्सी वाल विवाह, नयाँ पुस्तामा परम्परागत ज्ञान र सीपको हस्तान्तरण, वैदेशिक रोजगारीको कारणले सामाजिक संरचनामा परेको नकरात्मक प्रभाव, नयाँ प्रविधिले मैथिली भाषी समुदायको परम्परागत ज्ञान र सीपमा पारेको प्रभाव, महिला तथा बाल अधिकारको विषय लगायतका बिषयमा छोटा ५ फिल्म बनाउने छन् ।

१६ फागनुबाट यो कार्यशाला सात दिनसम्म चल्ने छ । जसमा फिल्ममा उच्च शिक्षा हाँसिल गरेका प्रशिक्षकहरुमा डा. राजेन्द्र बिमल, डब्बु क्षत्री, आलोक तिवारी, मिश्रीलाल यादब र सवनम मुखिया रहेका छन् ।

वितरक तथा निर्माताले मान्लान् प्राविधिक संघको यस्तो आग्रह ?, २०७० फाल्गुन १६, शुक्रवार



निर्माता सुवास गिरीसँगको सहकार्यमा अभिनेता आर्यन सिग्देल निर्मित फिल्म ‘नोभेम्वर रेन’लाई सोलो रिलिज गर्न नेपाल चलचित्र प्राविधिक संघले सम्बन्धित संघसंस्थासँग आग्रह गरेको छ ।

एक प्रेस विज्ञाप्ती जारी गर्दै ‘नोभेम्वर रेन’ प्रदर्शन हुने चैत १४ गते अन्य फिल्म प्रदर्शन नगर्न संघले सम्बन्धित संघसंस्था तथा वितरकलाई अनुरोध गरेको छ । प्राविधिक संघको अनुरोध वितरक तथा निर्माताले शिरोपर गर्लान् ?

निर्माता गिरीको मुख्य प्रायोजनमा प्राविधिक संघले ६ औं नेफ्टा अवार्ड मलेसियामा सम्पन्न गरेको थियो । चाइनिज नयाँ वर्षको अवसरमा आयोजना गरिएको नेफ्टा अवार्डबाट प्रायोजक गिरीलाई ठूलो घाटा लागेको चर्चा छ । अवार्डकै घाटाले गर्दा निर्माता गिरी फिल्म प्रचार प्रसारको लागि समेत नेपाल फर्कन सकेका छैनन् भने निर्माता भनिएका अभिनेता सिग्देल पनि अन्य फिल्मको सुटिङमा व्यस्त छन् ।

अभिनेत्री नम्रता श्रेष्ठले सम्भवतः ‘नोभेम्वर रेन’ को प्रचारका लागि पुरा समय दिन सक्ने छैनन् । उनी करिब एक महिना जसो लगातार फिल्मको सुटिङमा व्यस्त हुनेछिन् । अर्की कलाकार छुल्ठिम गुरुङसँग निर्माण युनिटको सम्बन्ध राम्रो छैन । मुख्य निर्माता देश बाहिर, कलाकार फिल्मको सुटिङमा व्यस्त हुँदा दिनेश राउत निर्देशित फिल्म प्रचार खरो रुपमा उत्रन सकिरहेको छैन । यदि वितरक तथा निर्माताले प्राविधिक संघको आग्रहलाई स्विकारेमा ‘नोभेम्वर रेन’ युनिटलाई राहत मिल्नेछ ।

आफ्नो फिल्मको प्रचार गर्ने कहिले ?

, काठमाण्डौ, २०७० फाल्गुन १६, शुक्रवार


अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्म ‘फिटकिरी’ चैत ७ गतेदेखि काठमाडौं तथा मोफसलका पर्दाबाट प्रदर्शन हुँदैछ । रंगमञ्चमा उत्कृष्ट नाटक निर्देशन गर्ने भएर पनि अनुप बरालको ‘फिटकिरी’ लाई महत्वका साथ हेरिएको छ ।

निर्माता अर्जुन कुमारले प्रचार प्रसारमा देखाएको सुस्तताले भने बराल निर्देशित ‘फिटकिरी’ को व्यावसायिक पाटो यसै भन्न नसकिने अवस्था छ । प्रदर्शन मिति महिना दिन पनि बाँकी नहुँदा समेत निर्माता खरो रुपमा प्रचारमा नउत्रिएपछि निर्देशक बराल तनावमा रहेको बताइन्छ । सुनिएअनुसार निर्माता अर्जुन कुमारले प्रचारमा तदारुकता नदेदेखाएपछि निर्देशक बराल उनीप्रति असुन्तष्ट भएका छन् ।

निर्माता कुमार आफ्नो भन्दा पनि सहकर्मी दीपेन्द्र के. खनालको 'झोले' फिल्मको प्रचारप्रसारमा बढि सक्रिय भएको देखिन्छ । अरूको फिल्मको प्रचार गर्नु राम्रो हो तर आफ्नै फिल्मको बारेमा खासै चिन्ता व्यक्त नगर्दा भने अचम्म लाग्न सक्छ । 'झोले' चलिसक्यो त्यसैले निर्माताज्यू अरूकोसँगै आफ्नो फिल्मको पनि प्रचारप्रसार गर्ने पो हो कि !

No comments:

Post a Comment