Thursday, May 29, 2014

स्मार्ट अम्ब्रेला




Description: Umbrella.jpg
काठमाडौ, वैशाख २७ - वर्षात मौसम आगमनसँगै गर्मी चर्किंदैछ । अब हिँड्दा साथी पक्कै छाता हुनेछ, घामबाट जोगिन होस् वा वर्षाबाट । तर छाता अब घामपानीबाट जोगिने माध्यममात्र बन्दै छैन, यसले वर्षाको सम्पूर्ण जानकारीसमेत दिनेछ । हो, डच अनुसन्धानदाता राल्फ हटले यस्तो 'स्मार्ट छाता' को विकास गरेका हुन्, जसले घामपानीबाट जोगाउनेमात्र हैन, वर्षाका सम्पूर्ण सूचनासमेत उपलब्ध गराउनेछ ।
डेल्फ्ट प्राविधिक विश्वविद्यालयका अनुसन्धानधाता हटले यसै साता सार्वजनिक गरेको 'स्मार्ट छाता' ले यसको क्यानभासमा परेको पानीको थोपाको चापका आधारमा मौसमको सूचना दिने दाबी गरेका छन् । छाता हेर्दा हामीले ओड्ने गरेको साधारणजस्तै देखिन्छ । हटका अनुसार कपडा पनि विशेष प्रकारको हुँदैन । यसको करङसँगै एक सेन्सर जडान गरिएको हुन्छ, जसले वर्षाका हरेक थोपाको चाप सुन्छ र त्यसको गणना गर्छ ।
यसले यो सूचना ब्लुटुथ हुँदै स्मार्टफोनमा प्रवाह गर्छ, स्मार्टफोनले कम्प्युटर वा ल्यापटपलाई । 'हामीसँग रडार छ, सेटेलाइट छ । तर वर्षा मापन गर्न सक्ने जमिनमा कुनै उपकरण छैनन्,' भियनामा आयोजित वैज्ञानिक सम्मेलनमा हटले भनेका छन्, 'हामी जसको दिनहुँ सामना गरिरहेका छौं, त्यहीचाहिँ जटिल छ ' उनले आफ्नो उपकरणले संस्थागत रूपमा नरहेका मौसमविद् र जलविद्युत् विज्ञलाई सहयोगी हुने दाबीसमेत गरेका छन् ।
हटका अनुसार यसले वर्षाको सघनता बुझ्छ र त्यसअनुसार वर्षा कति भइरहेको छ, कति हुने सम्भावना भन्ने सूचना प्रदान गर्न सक्छ । उक्त सूचना संकलनबाट भारी वर्षाले सहरमा पुर्‍याउन सक्ने क्षतिको अनुमान गर्ने र पूर्वसावधानी अपनाउन सहयोगी भूमिका खेल्ने उनको दाबी थियो । 'यसबाट हामी यतिसम्म सक्षम हुनेछौं कि,' उनले भनेका छन्, 'वर्षा कुन रफ्तारमा बढ्दै छ र कति बेला परिस्थिति खराब बन्नेछ भन्नेसमेत सूचना दिनेछ ।'
ल्याबमा काल्पनिक वर्षा गराएर यो स्मार्ट छाताको परीक्षण गर्दा हटलाई निकै डर लागेको थियो, गलत सूचना प्रवाह गर्ला कि भनेर । त्यसैले यिनले सावरको पानीको फोहोरालाई निकैबेर ठूलो- सानो गरेर खोलिरहे । तर यसले आफूले सोचेभन्दा सही सूचना दिएको हटको भनाइ थियो । त्यसपछि उनले खुला वर्षामा परीक्षण गरे । उक्त परीक्षण पनि सफल भएको थियो ।

एनसेलको 'ट्रिपल बोनस’ योजना



काठमाडौ, जेष्ठ ५ - एनसेलले विश्वकप फुटबलको अवसरमा ग्राहकका लागि 'ट्रिपल बोनस' नामक नयाँ योजना सार्वजनिक गरेको छ । योजनाबाट ग्राहकले एनसेलका सेवा प्रयोग गर्दा निःशुल्क बोनस पाउने कम्पनीले बताएको छ ।
जेठ ५ गतेबाट लागू हुने योजनामा एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहकले बिहानको ६ बजेदेखि बेलुका १० बजेसम्म मोबाइलको मेन ब्यालेन्सबाट फोन गर्दा, एसएमएस, एमएमएस पठाउँदा वा इन्टरनेट चलाउँदा १० रुपैयाँ खर्च गरेमा ३० रुपैयाँ बराबरको बोनस ब्यालेन्स पाउने उल्लेख छ । यही प्रक्रियाअन्तर्गत ग्राहकले एक दिनमा अधिकतम ६ सय रुपैयाँसम्म बोनस ब्यालेन्स पाउन सक्ने विज्ञप्तिमा भनिएको छ । यस्तोे बोनस व्यालेन्स बेलुकाको १० बजेबाट बिहान ६ बजेभित्र एनसेलको नेटवर्कभित्र फोन गर्नर्, एसएमएस वा एमएमएस पठाउनका साथै इन्टरनेट चलाउनलाई प्रयोग गर्न सकिने जनाइएको छ । एनसेलका पि्रपेड तथा पोस्टपेड ग्राहक स्वतः निःशुल्क योजनामा सहभागी हुनेछन् । यस समयमा हाम्रा ग्राहकले एकआपसमा आफ्ना भावना साट्दै फुटबलको प्रत्येक पलको आनन्द लिन सकून् भनेर यो योजना ल्याइएको हो,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

चुनौतीपूर्ण बन्दै साइबर सुरक्षा



वासिङ्टन , जेष्ठ ११ - साइबर सुरक्षामा अहिलेसम्मकै सबैभन्दा स्पष्ट असफलतापछि विशेषज्ञहरूले नयाँ उपायको खोजी गर्ने बेला आइसकेको औंल्याएका छन् । हालै अनलाइनको ठूलो बिक्री केन्द्र इबेको नेटवर्क प्रभावित भएको थियो । यसबाट १४ करोड ५० लाख ग्राहकलाई असर परेको थियो ।
खुद्रा व्यापारी टार्गेटका ११ करोड ग्राहक पनि पीडित भए । यस महिनाको सुरुमा अमेरिकी सरकारले चीनको गोप्य सैनिक एकाईका केही जिम्मेवार अधिकारीमाथि साइबर जासुसीको आरोप लगाउँदै मुद्दा दर्ता गर्‍यो । उनीहरूले अमेरिकी कम्पनीको व्यापारिक गोपनीयता चोरी गरेर आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ । अमेरिकाले सप्रमाण लगाएको आरोपको चीनले भने तत्कालै खण्डन गरेको थियो ।
यस्ता घटनाले साइबर सुरक्षामा निकै ठूलो खाडल रहेको देखाएको छ । यसले कुनै गलत अभिरुचि भएकाले एक कम्प्युटरमा प्रवेश गरी एउटा सञ्जालमा प्रवेश गर्न सक्ने देखाएको छ । सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका जेम्बी लुइसले साइबर सुरक्षाका
पुरानो विधिले अब काम नगर्ने बताए । उनले पुरानो विधि नराम्रो र नियन्त्रणबाहिर हुन थालेको स्पष्ट गरे ।
सुरक्षा संस्था ट्रस्टवेभले विभिन्न २४ मुलुकमा गत वर्ष ६ सय ९१ पटक सुरक्षा तोडिएको देखिएको जनाएको छ । यो सन् २०१२ को तुलनामा ५३.६ प्रतिशत बढी भएको भनिएको छ । अपराधीहरूले तथ्यांक चोरी तथा संवेदनशील सूचना कालोबजारमा बेची पैसा कमाउने अवस्था भएसम्म यो रोकिने अपेक्षा नरहेको उक्त संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
हाल सबैभन्दा ठूलो समस्या विश्वासिलो व्यक्तिले पठाएको भन्ने ठानिएको इमेल बनेको छ । यसलाई फिसिङ भन्ने गरिन्छ । यी इमेल खोल्दा हयाकरले गोप्य स्फ्टवेयर स्थापना गर्न सक्ने र उक्त कम्प्युटर तथा सम्भावित सम्पूर्ण नेटवर्कलाई प्रभावित बनाउन सक्ने देखिन्छ । सिम्यान्टेक नाम गरेको एक सुरक्षा संस्थाद्वारा जारी प्रतिवेदनमा कुनै एक संस्थामा लक्षित यस प्रकारको फिसिङ सन् २०१३ मा ९१ प्रतिशतले बढेको र यस अवधिमा ५५ करोड २० लाखको पहिचान तोडिएको उल्लेख गरेको छ ।
हालै आईबीएमले साइबर आक्रमण हुनुअगावै त्यसलाई असफल बनाउन नयाँ साइबर प्रतिरक्षा प्रणाली सार्वजनिक गरेको छ । सिम्यान्टेकले पनि आफ्नो प्लेटर्फममा यस्तै विधि अपनाउने सल्लाह दिएको छ । अन्य साइबर सुरक्षा समुदायले यस विधिलाई राम्रो ठानेका छैनन् ।
ब्रोमियम सुरक्षा संस्थाका सहसंस्थापक सिमोन क्रोस्बीले आक्रमणको अपेक्षा गर्दै रोक्ने योजना बनाउने विचार गलत भएको बताए । उक्त संस्थाले हार्डवेयरको सहयोगले कम्प्युटरलाई अन्य कम्प्युटरबाट अलग राख्ने विधि उपयोग गरेको छ ।
उनले प्रणाली आफैंले आफूलाई सुरक्षित राख्नु राम्रो उपाय भएको बताए । सान्स इन्स्टिच्युटका जोहानेस उलरिचले हार्डवेयरले कम्प्युटरलाई अलग बनाउने राम्रो उपाय भए पनि यो एक विकल्प भएको बताए । उनले गलत सफट्वेयरको खोजी गर्दा सबै खराब कुराको सूची बनाउन नसकिने भनेका छन्  । उनले यसका लागि श्वेत सूचीको विधि राम्रो हुने जानकारी दिए ।  
सन् २०१२ मा इम्पर्भा सुरक्षा संस्थाले गरेको अध्ययनमा केबल पाँच प्रतिशत खराब सफ्टवेयर पत्ता लाग्ने गरेको देखिएको छ । फायरआईले गरेको अनुसन्धानमा ८२ प्रतिशत खराब सफ्टवेयर एक घन्टा मात्र देखिने गरेको र ७० प्रतिशत यस्ता सफ्टवेयर एकपटक मात्र देखिने गरेको पत्ता लागेको छ । उलरिचले समय बित्दै जाँदा कम्पनीहरूले सूचना सुरक्षाका लागि थप लगानी गर्नुपर्ने र समस्या नियन्त्रणबाहिर जानुपूर्व रणनीति विकास गर्नुपर्ने बताए ।