Tuesday, May 27, 2014

करिव १४ करोडको पुल हावाहुरीले भाँचियो |

विनोदबाबु रिजाल-चितवन, १२ जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको
दासढुङ्गास्थित त्रिशूली नदीमाथि निर्माणाधीन पक्की पुलको ट्रस भाँचिएको छ ।
चितवनतर्फ दासढुङ्गा र तनहूँको देवघाट क्षेत्र जोड्ने निर्माणाधीन पुलको
ट्रस आइतबार बेलुकी आएको हावाहुरीले भाँचेको निर्माण कम्पनी अनक
कन्सट्रक्सनले जनाएको छ ।

पुलको बीचको पिलरदेखि तनहूँ क्षेत्रको करिब ८०  मिटर लामो भाग भत्किएको छ ।
केही समययता निर्माण तीव्र पारिएको सो पुलको ट्रस बनाएर निर्माण कार्य
भइरहेको थियो ।

करिव १४ करोडको लागतमा बन्न लागेको सो पुल निर्माण गर्ने जिम्मा अनक
कन्सट्रक्सन काठमाडौंले पाएको थियो । दुई महिना लगाएर बनाएको गरिएको ट्रस
भांचिएपछि निर्माण कार्य ढिला हुने भएको छ । अनक कन्स्ट्रक्सन प्रालिका
निर्देशक अमृत श्रेष्ठका अनुसार नट बोल्ट कस्न बाँकी रहेको अवस्थामा
एक्कासि आएको ठूलो हावाले ट्रस पल्टाएको हो । झन्डै २ सय ५० टन स्टीलबाट
बनेको ट्रस निर्माण र जडानका लागि मात्र पाँच करोडभन्दा बढी खर्च भएको उनले
बताए ।

निर्माणधीन पुल भत्किएको विषयमा अनुुसन्धान गर्न सडक विभागको एक टोली
चितवन आएको छ । पुल भत्किएको खबरपछि प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज
शर्मा, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख हरि पोखरेललगाएत सम्मिलित
टोलीले घटनास्थल निरीक्षण गरेको छ । पुल भत्किनुको कारण अनकुसन्धानपछि
पत्ता लगाइने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनियर हरि पोखरेलले सधैँजसो
उत्तरबाट दक्षिणतर्फ हावा बहने सो क्षेत्रमा आइतबार साँझ दक्षिणबाट
उत्तरतर्फ वेगले हावा चलेकाले ट्रस झारेको बताए । पुलको निर्माण कार्य १४
महिनादेखि जारी छ ।



चौध महिनाअघि सुरु भएको पुलको निर्माण आउँदो मंसिरमा सक्ने लक्ष्य छ ।
पुलको लागत १३ करोडको हाराहारीमा छ । लगभग ७० प्रतिशत काम सकिएको अवस्थामा
पुगेको पुलको ट्रस भाँचिएपछि काम लथालिङ्ग भएको छ ।

देवघाट क्षेत्रलाई मूल राजमार्गसँग जोड्ने पक्की पुल अहिलेसम्म बनेको छैन ।
लामो समयको विवादपछि दासढुंगामा मदन भण्डारी दुर्घटनास्थलको आडैबाट पुल
बनाउने सहमति बनेको थियो । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री
टोपबहादुर रायमाझीले पुलको शिलान्यास गरेका थिए ।

No comments:

Post a Comment