Thursday, May 29, 2014

स्मार्ट अम्ब्रेला




Description: Umbrella.jpg
काठमाडौ, वैशाख २७ - वर्षात मौसम आगमनसँगै गर्मी चर्किंदैछ । अब हिँड्दा साथी पक्कै छाता हुनेछ, घामबाट जोगिन होस् वा वर्षाबाट । तर छाता अब घामपानीबाट जोगिने माध्यममात्र बन्दै छैन, यसले वर्षाको सम्पूर्ण जानकारीसमेत दिनेछ । हो, डच अनुसन्धानदाता राल्फ हटले यस्तो 'स्मार्ट छाता' को विकास गरेका हुन्, जसले घामपानीबाट जोगाउनेमात्र हैन, वर्षाका सम्पूर्ण सूचनासमेत उपलब्ध गराउनेछ ।
डेल्फ्ट प्राविधिक विश्वविद्यालयका अनुसन्धानधाता हटले यसै साता सार्वजनिक गरेको 'स्मार्ट छाता' ले यसको क्यानभासमा परेको पानीको थोपाको चापका आधारमा मौसमको सूचना दिने दाबी गरेका छन् । छाता हेर्दा हामीले ओड्ने गरेको साधारणजस्तै देखिन्छ । हटका अनुसार कपडा पनि विशेष प्रकारको हुँदैन । यसको करङसँगै एक सेन्सर जडान गरिएको हुन्छ, जसले वर्षाका हरेक थोपाको चाप सुन्छ र त्यसको गणना गर्छ ।
यसले यो सूचना ब्लुटुथ हुँदै स्मार्टफोनमा प्रवाह गर्छ, स्मार्टफोनले कम्प्युटर वा ल्यापटपलाई । 'हामीसँग रडार छ, सेटेलाइट छ । तर वर्षा मापन गर्न सक्ने जमिनमा कुनै उपकरण छैनन्,' भियनामा आयोजित वैज्ञानिक सम्मेलनमा हटले भनेका छन्, 'हामी जसको दिनहुँ सामना गरिरहेका छौं, त्यहीचाहिँ जटिल छ ' उनले आफ्नो उपकरणले संस्थागत रूपमा नरहेका मौसमविद् र जलविद्युत् विज्ञलाई सहयोगी हुने दाबीसमेत गरेका छन् ।
हटका अनुसार यसले वर्षाको सघनता बुझ्छ र त्यसअनुसार वर्षा कति भइरहेको छ, कति हुने सम्भावना भन्ने सूचना प्रदान गर्न सक्छ । उक्त सूचना संकलनबाट भारी वर्षाले सहरमा पुर्‍याउन सक्ने क्षतिको अनुमान गर्ने र पूर्वसावधानी अपनाउन सहयोगी भूमिका खेल्ने उनको दाबी थियो । 'यसबाट हामी यतिसम्म सक्षम हुनेछौं कि,' उनले भनेका छन्, 'वर्षा कुन रफ्तारमा बढ्दै छ र कति बेला परिस्थिति खराब बन्नेछ भन्नेसमेत सूचना दिनेछ ।'
ल्याबमा काल्पनिक वर्षा गराएर यो स्मार्ट छाताको परीक्षण गर्दा हटलाई निकै डर लागेको थियो, गलत सूचना प्रवाह गर्ला कि भनेर । त्यसैले यिनले सावरको पानीको फोहोरालाई निकैबेर ठूलो- सानो गरेर खोलिरहे । तर यसले आफूले सोचेभन्दा सही सूचना दिएको हटको भनाइ थियो । त्यसपछि उनले खुला वर्षामा परीक्षण गरे । उक्त परीक्षण पनि सफल भएको थियो ।

No comments:

Post a Comment